७ महिनामा १७ अर्ब रुपैयाँ बढीको स्मार्ट फोन आयात

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ९ फागुन ।  सात महिनामा १७ अर्ब ३८ करोड ३६ लाख रुपैयाँको स्मार्ट फोन आयात भएको छ।

भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको नेपालको वैदेशिक व्यापारको तथ्यांकअनुसार उक्त रकम बराबरको ११ लाख २६ हजार ७४७ थान स्मार्ट फोन नेपाल भित्रिएको हो। उक्त तथ्यांक चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि माघ महिनासम्मको हो।

सरकारले स्मार्ट फोन आयातबाट ३ अर्ब २३ करोड ५७ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा १४ अर्ब ७६ करोड ८३ लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ५ हजार १३५ थान स्मार्टफोन नेपाल भित्रिएको थियो। यसबाट सरकारले २ अर्ब ७५ करोड रुपैयाँ राजस्व उठाएको थियो।

भन्सार विभागको तथ्यांकअनुसार नेपालमा कुल ६० मुलुकबाट स्मार्ट फोन आउने गरेको छ। नेपालमा सबैभन्दा बढी स्मार्ट फोन चीनबाट आउने गरेको छ। सात महिनामा चीनबाट ११ अर्ब ८५ करोड १ लाख ९४ हजार रुपैयाँ बराबरको ८ लाख १४ हजार ८ सय ७० थान स्मार्टफोन नेपाल भित्रिएको छ।

त्यस्तै, भारतबाट ५ अर्ब २४ करोड १८ लाख ५ हजार रुपैयाँ बराबरको ३ लाख ८ हजार ४ सय ५२ थान स्मार्ट फोन आयात भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्