काठमाडौँ, ९ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लघुवित्त तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गरिरहेको बताएका छन्।
लघुवित्त र सहकारी पीडितका प्रतिनिधिलाई सिंहदबारमा बोलाएर बुधबकार छलफल गर्दै उनले लघुवित्त र सहकारीका समस्या चाँडै समाधान गरिने आश्वासन दिएका हुन्।
‘विगतमा ग्रामीण र विपन्न वर्गका नागरिकको सेवा प्रवाहमा यो क्षेत्रले राम्रो काम गर्दै आएको सत्य हो। तर पछिल्लो समय यो ठूलो समस्यामा फस्दै गएको छ,’ उनले भने, ‘यसमा कतिपय परिस्थितिजन्य अप्ठ्यारा र कतिपय सञ्चालकको बेइमानी जिम्मेवार रहेको छ।’
उनले लघुवित्त र सहकारी क्षेत्रले विगतमा ग्रामीण तथा विपन्न वर्गका नागरिकका लागि कर्जा प्रवाह र व्यवसाय सञ्चालनमा सहयोग गरे पनि पछिल्लो समय यो क्षेत्र संकटग्रस्त हुँदै गएको बताए। छलफलमा पीडित पक्षका प्रतिनिधिले सहकारी र लघुवित्तका समस्या छिटो समाधानका निम्ति प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।











