काठमाडौं, ५ फागुन । एक महिनामै निक्षेपकर्ताले एनआईसी एसिया बैंकबाट १४ अर्ब रुपैयाँ निक्षेप निकालेका छन्।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको निक्षेप विवरणअनुसार एनआईसी एसियाको पुसमा ३ खर्ब ८१ अर्ब ४० करोड रुपैयाँ थियो। तर, माघमा भने ३ खर्ब ६७ अर्ब ६८ करोडमा खुम्चिएको छ। वाणिज्य बैंक क्षेत्रको निक्षेप करिब १२ अर्ब रुपैयाँले बढ्दा एनआईसीको भने घटेको हो।
बैंकहरुको माघमा ५४ खर्ब २९ अर्ब ६९ करोड रुपैयाँ निक्षेप थियो। तर, माघमा ५४ खर्ब ४१ अर्ब २६ करोड रुपैयाँ पुगेको छ। एनआईसी एसियाप्रति फैलिएका विभिन्न किसिमका अफवाह, सर्वसाधारणले बैंकलाई हेर्ने दृष्टिकोण, सञ्चार माध्यममा आएका विभिन्न टीकाटिप्पणी र बैंककै कतिपय गतिविधिका कारण ग्राहकको बैंकप्रतिको मनोबल गिरेको असर निक्षेपमा परेको हो।











