काठमाडौं, २६ माघ।आन्तरिक राजस्व विभागले करिब १० अर्ब रुपैयाँ कर छलीको आंशकामा दुई हजार फर्ममाथि छानबिन अघि बढाएको छ ।
झुटा तथा नक्कली बिलबिजक प्रयोग गरी मूल्य अभिवृद्धि कर छलेको देखिएपछि करदाताको अभिलेख तयार पारेर अनुसन्धान अघि बढाइएको हो ।
विभिन्न प्रकारका साना–ठूला कम्पनीको ‘मूल्य अभिवृद्धि करतर्फ देखाएको खरिद र सो कर बिजकबाट लिएको करकट्टी’सम्बन्धी अनुसन्धान गर्दा बिल नक्कली भएको देखिएको हो ।
यसरी नक्कली बिल जारी तथा खरिद गर्ने गरी कर छली गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको विभागका एक उच्च अधिकारीले बताए । विभागले अनुसन्धानका लागि मातहतका कार्यालयलाई निर्देशन दिएको छ ।
एक हजार नौ सय ८६ वटा फर्मको कारोबार शंकास्पद देखेपछि प्रारम्भिक अनुसन्धान गर्दा कैफियत भेटिएका कारण विभागको निर्देशनअनुसार ठूला र मध्यमस्तरीय करदाताका साथै कर निर्धारण गर्ने ४५ वटै कार्यालयले अनुसन्धान गरिरहेका छन् ।
ती फर्मको नौ अर्ब ८३ करोड रकमको कारोबारमाथि अनुसन्धान भइरहेको छ ।
न्युज कारखाना











