काठमाडौ, २६ पुस ।चितवनका किसानले दूधको समयमै भुक्तानी गर्न माग गरेका छन् ।
बुधबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरुले दूध बिक्री गरेको पैसा नपाउँदा पलायन हुनुपर्ने अवस्था आउन लागेको गुनासो व्यक्त गरेका हुन् ।
उनीहरुले सम्बन्धित निकाय समक्ष विभिन्न पाँच बुँदे माग समेत राखेका छन् । ती मागमा सहुलियत ऋण सुलभ तरिकाले प्रदान गर्नुपर्ने, बीमामा देखिएको समस्यामा तत्काल सम्बोधन हुनुपर्ने, वाग्मती प्रदेश सरकारद्वारा दिँदै आएको दूध उत्पादनमा आधारित अनुदान रकम सबै दुग्ध किसानले सहज तरिकाले प्राप्त गर्नुपर्नेलगायत छन् ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगाले चितवनका दुग्ध किसानका समस्या समाधानमा सरोकारवाला निकाय उदासिन बनेको गुनासो गरे ।











