काठमाडौं, २५ पुस । पछिल्लो दुई दिन निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज पनि बढेको छ। बुधबार नेप्से परिसूचक ९.५० अंकले बढेर २ हजार ८९.६२ को बिन्दुमा कायम भएको हो।
बुधबार कारोबारमा आएका ३ सय १ कम्पनीको १ करोड ३४ लाख ७७ हजार ९ सय ४६ कित्ता सेयर खरिद बिक्री हुँदा कुल ५ अर्ब १३ करोड ४८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
कारोबारमा आएका कम्पनीमध्ये सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको सर्वाधिक ३२ करोड ७८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
यस्तै, मनकामना स्मार्ट लघुवित्त र हिमालयन रि–इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयर हाउस कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ।
बुधबार छिमेक लघुवित्तको ५.९५ प्रतिशत, ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८६/८७ को ५.८७ प्रतिशत र अपर हेवाखोला हाइड्रोपावर कम्पनीको ४.६१ प्रतिशतले सेयर मूल्य घटेको छ।











