११ पुस, काठमाडौ । नेपाल विद्युत् प्राधिकरणसँग टाइम अफ डे (टिओडी) मिटरको कुनै पनि रेकर्ड नरहेको पुष्टि भएको छ।
प्राधिकरणले २०८० असोज ११ मा सुनसरी जिल्ला अदालतलाई दिएको पत्रमा टिओडी मिटरको नयाँ डाटाले पुरानो डाटालाई प्रतिस्थापन गर्ने भएकाले उक्त अवधिको डाउनलोड डाटा उपलब्ध गराउन नसकिने बेहोरासहित पत्र बुझाएको फेला परेको हो।
प्राधिकरणसँग अदालतले २०८० भदौ १३ मा रिलाइन्स स्पिनिङ मिल्सका सन्दर्भलाई लिएर पत्र काटेको थियो। सोही पत्रको जवाफ दिने क्रममा आफूसँग टिओडी मिटरको कुनै पनि रेकर्ड नरहेको भनेको हो।

त्यसैगरी प्राधिकरणले मकवानपुर जिल्ला अदालतलाई दिएको जवाफ पनि समान छ। शिवम् सिमेन्टको टिओडी मिटरको डाटा डाउनलोड रिपोर्ट सम्बन्धित वितरण केन्द्रमा लामो समयसम्म रेकर्ड कायम नहुने हुँदा उल्लिखित अवधिको रेकर्ड फेला पार्न नसकेको पत्र पठाएको हो।












