तीन महिनामा डेढ अर्ब रुपैयाँ भन्दा धेरैको भाइ मसला आयात

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाण्डौ, २९ कात्तिक । चालू आर्थिक वर्षको तीन महिनामा डेढ अर्ब रुपैयाँ भन्दा धेरैको भाइ मसला विभिन्न देशबाट आयात भएको छ ।

दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई (नरिवल, काजु, बदाम, ओखर, किसमिस, पिस्ता) लगायतका भाइ मसला दिने प्रचलन रहेको छ ।

पछिल्ला वर्षमा यसको आयात बढ्दै गएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । साउन, भदौ र असोजमा एक अर्ब ५० करोड ३४ लाख रुपैयाँको भाइमसला आयात भएको छ । यो गएको वर्षको तुलनामा ३४ करोड रुपैयाँले धेरै हो । सबैभन्दा धेरै नरिवलको आयात भएको छ । तीन महिनामा ३१ करोड रुपैयाँ बराबरको नरिवल आयात भएको हो ।

भाइमसलाको रुपमा प्रयोग हुने ओखर ७६ करोड रुपैयाँ बराबरको आयात भएको छ । गतवर्षको तुलनामा यस वर्ष काजुको आयात भने घटेको छ । गतवर्ष ३० करोड रुपैयाँको काजु आयात भएकोमा यसवर्ष १३ करोड रुपैयाँ बराबरको मात्र काजु आयात भएको तथ्याङ्क छ ।

भाइमसलाको रुपमा प्रयोग हुने बदामको आयात केही बढेको छ । तीन महिनामा १९ करोड रुपैयाँ बराबरको बदाम आयात भएको छ । यस्तै, नौ करोड रुपैयाँको किसमिस र पाँच लाख रुपैयाँ बराबरको पिस्ता आयात भएको विभागले जनाएको छ । सुपारीमा आयात प्रतिबन्ध लगाएकाले यसपालि सुपारी आयात नभएको बताइएकाे छ  ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्