नेपाली अर्थतन्त्रमा चुनौति भएपनि आर्थिक वृद्धिको ठूलो सम्भावना छः जापानी केन्द्रीय बैंकका पूर्वगभर्नर कुरोदा

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १९ असाेज।  एसियाली विकास बैंक (एडिबी)का पूर्वअध्यक्ष हारुहिको कुरोदाले नेपाली अर्थतन्त्रमा चुनौति भएपनि आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताउनुभएको छ ।

जापानको केन्द्रीय बैंकका पूर्वगभर्नरसमेत रहनुभएका कुरोदाले शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनम पछिल्लो समयमा नेपालको अर्थतन्त्रमा आफूले ठूलो परिवर्तन महसुस गरेको भन्दै नेपाली अर्थतन्त्रमा चुनौति भएपनि आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताउनुभएको हो ।

नेपालमा मानव स्रोत, जलस्रोत र पर्यावरणीय स्रोत प्रचुर रहेको भन्दै यस्ता स्रोतको सदुपयोग गर्नसके नेपालमा आर्थिक विकास हुने जिकिर गर्नुभयो । नेपालको युवा जनशक्तिलाई प्राकृतिक स्रोतको उपयोगमार्फत गरिने उत्पादनका क्षेत्रसँग जोड्न सक्नुपर्ने उहाँको भनाइ छ । त्यस्तै, उहाले नेपालको बढ्दो सार्वजनिक ऋणलाई नजरअन्दाज गर्न नहुने भन्दै सङ्कुचित आर्थिक वृद्धिदर, लगानीको न्यून प्रतिफल र कमजोर पुँजी निर्माणका कारण बढ्दो सार्वजनिक ऋण नेपालका लागि चुनौतीको विषय हुनसक्ने बताउनुभयो ।

उहाले जापान जिडिपीको तुलनामा सार्वजनिक ऋण निकै बढी भएको मुलुकमा पर्ने भएपनि पुँजी निर्माण तथा लगानीको प्रतिफल र लगानीकर्ताले पाएको विश्वासको वातावरणका कारण ठूलो ऋणका बाबजुत पनि सार्वजनिक ऋण समस्याका रुपमा नरहेको उल्लेख गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्