काठमाडौं, १८ भदौ । अर्थ मन्त्रालयले विदेशी विनिमय जोखिम सुरक्षण गर्ने व्यवस्था (हेजिङ) नियमावली तेस्रोपटक संशोधन गर्ने भएको छ। विदेशी लगानी भित्र्याउन हेजिङ गर्ने संस्था तोक्ने तयारी भएका बेला फेरि नियमावली संशोधनको कुरा उठेको छ। नियमावलीमा विदेशी लगानी भित्र्याउने स्पष्टता नभएपछि संशोधन गर्न लागिएको अर्थले जनाएको छ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता धनिराम शर्माका अनुसार हेजिङ नियमावली २०७५ लाई संशोधन गरेरमात्रै हेजिङ गर्ने संस्था तोक्ने छलफल भइरहेको हो। हेजिङसम्बन्धी नियमावली पहिलोपटक २०७५ मा आएको थियो। उक्त नियमावली २०७६ मा पहिलो र ०७९ मा दोस्रोपटक संशोधन भइसकेको छ। यसअघि पनि विदेशी लगानी ल्याउन स्पष्टता नभएको लगानीकर्ताबाट गुनासो आएपछि अर्थले नियमावलीको संशोधन गरेको थियो।
तर, तेस्रोपटक कुन विषयमा नियमावली संशोधन केन्द्रित हुन्छ भन्ने विषय मन्त्रालयले प्रष्ट पारेको छैन। हेजिङ सुविधा नहुँदा विशेष गरी जलविद्युतमा विदेशबाट आउने ठूलो लगानी रोकिएको छ। हेजिङ गर्ने बैंक तोकिएपछि रोकिएका विदेशी लगानी नेपालमा भित्रिने छन्।
हेजिङ नियमावली, २०७९ अनुसार सरकारले भौतिक पूर्वाधार विकासलाई द्रुतगतिमा अगाडि बढाउने लक्ष्यका साथ विभिन्न ६ प्रकारका आयोजनालाई हेजिङ सुविधा उपलब्ध गराउने उल्लेख छ। जसअनुसार १०० मेगावाट वा त्यसभन्दा बढी क्षमताका जलाशययुक्त वा अर्धजालाशययुक्त विद्युत परियोजनालाई हेजिङ सुविधा उपलब्ध गराइने व्यवस्था छ।
यस्तै २२० किलोभोल्ट वा त्यसभन्दा बढी भोल्टेज लेभलको ३० किलोमिटरभन्दा लामो विद्युत प्रसारण लाइन निर्माण परियोजनाले पनि त्यस्तो सुविधा पाउनेछन्। १० किलोमिटरभन्दा लामो मेट्रो वा मोनो रेलमार्ग निर्माण परियोजना, शुल्क लिई सञ्चालन गर्ने सडक, फ्लाइओभर, अन्डरपास, सिग्नेचर पुल वा सुरुङमार्ग निर्माण तथा ५० किलोमिटरभन्दा लामो द्रुतमार्ग परियोजनाले हेजिङ सुविधा पाउनेछन्।
डलरमा ऋण ल्याउँदा हेजिङ लागत उच्च हुँदा ब्याजदर महँगो हुनसक्ने भएकाले सस्तो हुनुपर्ने लगानीकर्ताको माग छ। जलविद्युत आयोजनामात्र नभई वाणिज्य बैंकहरूले विदेशबाट डलरमा ऋण लिँदा हेजिङको उच्च लागत (हाइकस्ट) ले समस्या भएको बताउँदै आएका छन। सस्तोमा ऋण ल्याउन हेजिङ लागत कम हुनुपर्ने माग बैंकरहरूके छ।
हेजिङ फन्ड लगानीमैत्री नभएपछि पूर्वाधारमा लगानी गर्न स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) लगायत अन्य बैंकलाई पनि विदेशी लगानी जुटाउन समस्या भएको छ। यस्तै अन्य वाणिज्य बैंकले पनि विदेशबाट ऋण लिन हेजिङ नियमावली बाधक बन्दै आएको बताएका छन्। हेजिङ कार्यान्वयन नहुँदा विभिन्न बन्डलगायत अन्य वित्तीय औजार प्रयोग गरेर बाहिरबाट लगानी भित्र्याउन समस्या हुँदै आएको छ।











