चालू पुँजी कर्जा सीमा ४० प्रतिशतसम्म पुग्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौ, ११ भदौ ।नेपाल राष्ट्र बैंकले औचित्य र आवश्यकताको आधारमा पटक पटक चालूपुँजी कर्जा लिन पाउने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले चालूपुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ मा संशोधन तथा परिमार्जन गर्दै ऋणीलाई थप कर्जाको व्यवस्था गरेको हो।

केन्द्रीय बैंकले ४० प्रतिशतसम्म चालूपुँजी कर्जा लिन पाइने व्यवस्थासमेत गरेको छ। बैंक तथा वित्तीय संस्थाले अधिकतम् चालूपुँजी आवश्यकताको ४० प्रतिशतसम्म कर्जा दिन पाउने व्यवस्था गरेको हो। यस्तो सीमा यसअघिसम्म अधिकतम २५ प्रतिशत थियो।

अब भने उद्यम व्यवसायको अपरेटिङ साइकल, क्यास कन्भर्सन साइकल, डेज सेल्स आउट स्टयाण्डीङ, इन्भेन्टरी कन्भर्जन पिरियड, लिड टाइम र एकाउन्ट्स पेईबल पिरियडको विश्लेषण गर्दा औचित्यपूर्ण देखिएमा बैंक तथा वित्तीय संस्थाले १ वर्षका लागि वार्षिक कारोबारको अधिकतम ४० प्रतिशतसम्म कुल चालूपुँजी कर्जा सीमा कायम गर्न सक्नेछन्।

यस्तै, राष्ट्र बैंक औचित्य र आवश्यकताको आधारमा ऋणीले १ वर्षमा २ थप चालूपुँजी कर्जा लिन पाउने व्यवस्था गरेको छ। ऋणीको व्यवसायसँग सम्बन्धित कुनै प्रयोजनका लागि अप्रत्याशित रुपमा वित्तीय स्रोतको आवश्यकता भएमा सम्बन्धित प्रयोजनमा सोझै  रकमान्तर हुने गरी आकस्मिक प्रकृतिको थप चालू पुँजी कर्जा प्रदान गर्न मिल्ने व्यवस्था गरिएको हो।

यस्तो थप कर्जा सिजनल व्यवसायलाई समेत जस्तै रसायनिक मल खरीद, चाडपर्वसँग सम्बन्धित व्यापार आदिमा औचित्यको आधारमा प्रवाह गर्न सकिने भएको छ। यस्तो कर्जा नवीकरण भएको वा उद्देश्यबमोजिम प्रयोग भएको नपाइएमा सो कर्जालाई खराब वर्गमा वर्गीकरण गरी शत्प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्दछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्