हिमालय जेटको ‘डिजिटल ट्रान्सफर्मेसन’ गर्न इन्फोसिससँग साढे ६ अर्ब बढीको समझदारी

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ७ भदौ । बेलायतको लन्डनबाट निकट भविष्यमा उडान सञ्चालन गर्न लागेको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय जेटले ‘डिजिटल ट्रान्फर्मेसन’ का लागि इन्फोसिससँग ४ करोड बेलायती पाउन्ड (६ अर्ब ६४ करोड रुपैयाँ) बराबरको समझदारी गरेको छ।

नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुरुङले सञ्चालन गर्न लागेको हिमालय जेटले कम्पनीको डिजिटल ट्रान्फर्मेसनका लागि इन्फोसिससँग उक्त परिमाणबराबरको समझदारी गरेको विज्ञप्तिमार्फत जनाएको छ।

हिमालय जेटको मूल्यांकन १ अर्ब ६० करोड पाउन्ड (२ खर्ब ६७ अर्ब २० करोड रुपैयाँ) बराबर रहेको छ।

इन्फोसिस भारतको बैंगलुरूमा सन् १९८१ मा स्थापित बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी हो। इन्फोसिसको मूल्यांकन ७० अर्ब अमेरिकी डलरबराबर छ। डिजिटल ट्रान्फर्मेसनका लागि हिमालय जेटसँग रणनीतिक साझेदारी गरेको इन्फोसिसले अब हिमालय जेटसँगै हिमालय जेट होलिडेज, हिमालय जेट माइल्स र विश्व सुन्दरी प्रतियोगितालगायतको सूचना प्रविधिसम्बन्धी सम्पूर्ण व्यवस्थापन सम्हाल्ने छ।

गुरुङले लन्डनको हिथ्रो विमानस्थललाई आधार गरेर सन् २०२३ तेस्रो त्रैमासबाट विश्वव्यापी नियमित उडान गर्ने घोषणा केही महिनाअघि गरेका थिए। यसका लागि उनले आवश्यक तयारी तीव्र गतिमा अगाडि बढाएका छन्।

लन्डनबाट चाँडै सञ्चालन हुन लागेको  हिमालय जेटले बेलायत, फ्रान्स र जर्मनीबाट नेपाल उडान गर्ने लागेको हो।

लामो दुरी (लङ हल) मा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय जेटले आगामी सेप्टेम्बरदेखि बेलायतको लन्डन र म्यानचेस्टर, फ्रान्सको पेरिस र जर्मनीको फ्र्यांकफर्टबाट नेपाल उडान गर्न लागेको हो।

हिमालय जेटले १८ थान ठूला आकार (वाइड बडी) जहाजबाट लामो दुरीका गन्तव्यमा उडान गर्ने जानकारी आफ्नो अफिसियल वेबसाइटमा उल्लेख गरेको छ।

कम्पनीले लन्डन, म्यानचेस्टर, पेरिस र फ्र्यांकफर्टबाट सिधा काठमाडौं उडान गर्ने र यहाँबाट पनि ती गन्तव्यका लागि सिधा उडान गर्ने जनाएको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्