काठमाडौ, ३२ साउन । गण्डकी प्रदेशका हिमाली र उच्च पहाडी भेगमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार गरिएको छ।
मुस्ताङ, मनाङ, बागलुङ, गोरखालगायत जिल्लामा गरी ५ सय ७२ रोपनी क्षेत्रमा स्याउखेती विस्तार गरिएको प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ।
हिमाल पारिका जिल्ला मुस्ताङ र मनाङ स्याउका लागि उर्बर भूमि हुन्। बागलुङ ढोरपाटन, गोरखाको चुमनुब्री, म्याग्दीको गुर्जालगायतका ठाउँमा पनि उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती सुरु गरिएको प्रदेश कृषि विकास निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले बताए।
स्याउखेती विस्तार तथा व्यवसायीकरण आयोजनाबाट ३ सय ९२ र शितोष्ण फलफूल विस्तार तथा व्यवसायीकरण आयोजनामार्फत १ सय ८० रोपनी क्षेत्रफलमा स्याउखेती विस्तार गरिएको उनको भनाइ छ।
‘मुख्यरूपमा मुस्ताङ र मनाङमा स्याउ खेतीलाई केन्द्रित गरिएको छ, अरु जिल्लाका उच्च पहाडी भेगमा पनि थोरैथोरै क्षेत्रमा स्याउखेती सुरु गरिएको छ,’ प्रमुख रेग्मीले भने।
गत आर्थिक वर्षमा स्याउखेती विस्तारतर्फ ११ करोड ५० लाख र शितोष्ण फलफूल विस्तारमा ६ करोड रुपैयाँ बजेट खर्च भएको निर्देशनालयले जनाएको छ।
स्याउखेती विस्तार तथा व्यवसायीकरण आयोजनाबाट मुस्ताङमा ५८ हजार ८ सय स्याउका बिरुवा वितरण गरिएको थियो।
शितोष्ण फलफूल विस्तार तथा व्यवसायीकरण आयोजनामार्फत अन्य जिल्लामा २७ हजार स्याउका बिरुवा वितरण गरिएको प्रमुख रेग्मीले बताए।











