सामाजिक सुरक्षा भत्ताका कारण, पछिल्लो पाँच वर्षमा चार गुणाले बढ्यो आर्थिक दायित्व

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २५ साउन । सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको सङ्ख्या बढेसँगै यसका लागि सरकारले वर्षेनी व्यहोर्दै आएको आर्थिक दायित्व पनि थपिँदै गएको छ।

विभागका अनुसार आव २०७५/७६ का लागि सरकारले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनका लागि ४० अर्ब ९९ करोड १३ लाख ८६ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो। जसमध्ये उक्त आवमा ४० अर्ब २१ करोड ९६ लाख ७९ हजार रुपैयाँबराबर खर्च भएको थियो। यस्तो रकम चालू आवसम्ममा आइपुग्दा १ खर्ब ५७ अर्ब ७३ करोड रुपैयाँबराबर पुगेको छ। जुन करिब चार गुणाले वृद्धि हो।

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार आव २०७६/७७ का लागि ६८ अर्ब ३१ करोड चार लाख ७८ हजार रुपैयाँबराबर विनियोजन भएकोमा ६६ अर्ब २२ करोड १७ लाख ५२ हजार रुपैयाँबराबर खर्च भएको थियो।

त्यस्तै, आव २०७७/७८ का लागि सरकारले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनका लागि ७० अर्ब ३९ करोड रुपैयाँ छुट्याएकामा ६८ अर्ब ६५ करोड रुपैयाँबराबर खर्च भएको देखिन्छ। त्यस्तै अघिल्लो आव २०७८/७९ मा ९८ अर्ब १ करोड विनियोजन भएकोमा ९६ अर्ब ६ करोड रुपैयाँबराबर खर्च भएको थियो।

त्यस्तै, २०७९/८० मा सामाजिक सुरक्षा भत्ता वितरणका लागि सरकारले १ खर्ब ५ अर्ब ७१ करोड रुपैयाँबराबर विनियोजन गरेको थियो । जुन रकम गत आर्थिक वर्षका लागि सरकारले गरेको कूल बजेट विनियोजनको करिब ६ प्रतिशत बराबर हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्