सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही १० लाख थपिँदा आर्थिक दायित्व चार गुणा बढ्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २५ साउन । पछिल्लो पाँच वर्षको अवधिमा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको सङ्ख्या करिब १० लाखले बढ्दा सोही अवधिमा सरकारले सामाजिक सुरक्षातर्फ व्यहोर्नुपर्ने दायित्वको अंश करिब चारगुणाले बढेको देखिएको छ।

चालू आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैगर्दा अर्थमन्त्री डा. प्रकाशशरण महतले तलबभत्ता, प्रशासनिक खर्च, सामाजिक सुरक्षा, सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीका लागि मात्रै सरकारले १२ खर्ब ८० अर्ब रुपैयाँबराबर विनियोजन गर्नुपरेको उल्लेख गरेका थिए। यी शीर्षकको खर्च सरकारको अनिवार्य दायित्व हो।

चालू आवका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको सरकारले सामाजिक सुरक्षातर्फ खर्च गर्नका लागिमात्रै कूल वार्षिक विनियोजनको नौ प्रतिशत अर्थात १ खर्ब ५७ अर्ब ७३ करोड रुपैयाँबराबर छुट्याइएको छ। नागरिकको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा उपभोगमा सहयोग पु¥याउने उद्देश्यले सरकारले गैरयोगदानमूलक कार्यक्रमका रूपमा सञ्चालन गर्दै आएको सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको सङ्ख्या बढ्दो क्रममा देखिएको छ।

लाभग्राहीको सङ्ख्या बढेसँगै त्यसको दायित्व बहनका लागि सरकारलाई आर्थिक भार पनि क्रमशः बढ्दो क्रममा छ। सामाजिक सुरक्षातर्फ सरकारलाई वर्षेनी बढिरहेको दायित्वबारे गम्भीर भएर सोच्नुपर्ने र सामाजिक सुरक्षा कार्यक्रमलाई पुर्नपरिभाषित गर्नुपर्ने बेला आएको अर्थतन्त्रका जानकार बताउँछन्। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पुष्पराज कँडेल सामाजिक सुरक्षाका कार्यक्रमबाट राज्यलाई पर्न गएको भारलाई सन्तुलन र व्यवस्थित बनाउन आवश्यक भइसकेको बताउँछन्।

नेपालको औसत आयु बढिरहँदा बृद्धभत्ता पाउने उमेर हद बढाउनुपर्ने र दोहोरो सुविधा हटाइनुपर्ने उनको भनाइ छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्