नागढुंगाको आपत्‌कालीन सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २२ साउन । नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलको सोमबार ‘ब्रेक थ्रु’ भएको छ ।

चार वर्ष अगाडि ४ कात्तिक २०७६ मा शिलान्यास भई निर्माण थालिएको रेस्क्यु टनेलको सुरुङमार्ग निर्माणको काम सोमबार पूरा भएको हो ।

आइतबार दिउँसोसम्म एक मिटर मात्र रेस्क्यु टनेलको काम बाँकी रहेको थियो । जसलाई सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा ‘ब्रेक थ्रु’ गरियो ।

यो रेस्क्यु टनेलको लम्बाइ २.५ किलोमिटर रहेको छ । २.६ किलोमिटर लम्बाइको मुख्य टनेलको काम अब १८ प्रतिशत बाँकी रहेको आयोजनाले जनाएको छ । मुख्य टनेलमा अब ५ सय ६ मिटर खन्न बाँकी रहेको छ । यो नेपालको पहिलो ठूलो सुरुङमार्ग हुनेछ ।

यो आयोजनाको अध्ययन सन् २०१४ मा भएको हो । सन् २०१६ मा स्रोत सुनिश्चित भएपछि सन् २०२७ मा डिजाइनको काम सुरु भएको थियो ।

नागढुंगा सुरुङमार्गको डिजाइन जापान सरकारको सहयोगमा भएको हो । कर बाहेक साढे १३ अर्ब रुपैयाँमा यो आयोजनाको ठेक्का लागेको हो ।

सुरुङमार्ग र पहुँचमार्गसमेत गरी कुल लागत भने २२ अर्ब भन्दा माथिको हो । नौबिसेदेखि थानकोटसम्मको घुमाउरो र भिरालो सडकका कारण हुने बाक्लो ट्राफिक जाम हटाउने उद्देश्यले सुरुङमार्ग निर्माण थालिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्