भृकुटी कागजको ऋण तिर्न नेपाल बैंकले गोल्छालाई थप एक वर्ष दिने

खबर बुक
  • ख-
  • ख
  • ख+

नेपाल बैंकले दिवाकर गोल्छा कर्पका सञ्चालकले भृकुटी पल्प एन्ड पेपर नेपाल लिमिटेडको नाममा लिएको ऋण तिर्न थप एक वर्षको समय दिने भएको छ।

बैंकले एक वर्षभित्र ऋण तिर्ने प्रस्ताव स्वीकृतिका लागि सञ्चालक समितिमा पेस गरेको छ। सञ्चालक समितिबाट स्वीकृत भएपछि दिवाकर गोल्छा कर्पले एक वर्षको समय पाउने छ। त्यसपछि ऋण तिर्ने विषयमा बैंक र दिवाकर गोल्छा कर्पबीच समझदारी (एमओयु) हुनेछ।

यसअघि कर्प सञ्चालक हितेश गोल्छाले ऋण तिर्न दुई वर्षको समय मागेका थिए। तर, नेपाल बैंकले एक वर्षको मात्र समय दिन लागेको हो।

हितेश ऋण तिर्ने योजनासहित पुगेपछि नेपाल बैंकले समय दिन लागेको हो। भृकुटीको नाममा रहेको जग्गा बेचेर ऋण तिर्ने प्रस्ताव गोल्छाले राखेका छन्।

भृकुटी कागजको साँवामात्रै ८५ करोड रुपैयाँ छ। ऋणमा लागेको ब्याज तथा हर्जना गर्दा झन्डै दोब्बर हुने बैंकले जनाएको छ। कारखानाको क्षमता बढाउन त्यसबेला गोल्छाले नेपाल बैंकबाट ऋण लिएका थिए।

नेपाल बैंकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंक र हिमालयन बैंकले सहवित्तीयकरणमा भृकुटीमा ऋण लगानी गरेका थिए। डिफल्ट समयको ९ प्रतिशत ब्याज तिर्न गोल्छाले सहमति जनाएका छन्।

भृकुटी कागज कारखाना किन्दा आठ टन कागज उत्पादन गर्ने क्षमता थियो। क्षमता बढाएर दैनिक १३ टन पु¥याउन गोल्छाले नेपाल बैंकबाट ऋण लिएका थिए। कारखाना सञ्चालन हुन नसकी बन्द भएपछि गोल्छाले बैंक ऋण नतिरी बसेका थिए।

नवलपुर गैंडाकोटमा रहेको कागज कारखाना २०६७ फागुन १९ देखि पूर्णरूपमा बन्द छ। बन्द भएको १२ वर्षभन्दा बढी भइसकेको छ।

चीनले नेपाललाई कागजमा आत्मनिर्भर बनाउन २०३९ सालमा भृकुटी कागज कारखाना निर्माण गरी हस्तान्तरण गरेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्