काठमाडौं, ३० असार। सार्वजनिक तथा निजी लगानीमा निर्माणाधीन १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजना फेरि पछाडि धकेलिएको छ।
आयोजनाबाट असोजदेखि बिजुली उत्पादनको नयाँ कार्यतालिका बनेको छ। यसअघि आयोजनाबाट आउँदो साउन १५ देखि बिजुली उत्पादन गर्ने लक्ष्य थियो।
प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण आयोजना एक महिना ढिलो हुने अवस्था आएको मध्यभोटेकोसी जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामगोपाल सिवाकोटीले बताए।
आयोजना र नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइन निर्माणमा केही ढिला हुन गएकाले आयोजना एक महिना पछाडि धकेलिएको उनले स्पष्ट पारे। आयोजनाको काम लगभग अन्तिम चरणमा छ।
२०७९ पुसभित्र सक्ने लक्ष्य राखिएकोमा म्याद थपेर असारमा पुर्याइएको थियो। आयोजना निर्माणमा ढिलाइ हुँदा लागत अनुमान गरिएभन्दा २ अर्ब ७४ करोड ९६ लाख रुपैयाँ बढेको छ।











