काठमाडौं, १९ असार । जिम्बावे आईसीसी एकदिवसीय विश्वकपमा पुग्न असफल भएकाे छ । आज मङ्गलवार आईसीसी विश्वकप छनोटअन्तर्गत ‘सुपर सिक्स’ काे खेलमा स्कटल्यान्डसँग ३१ रनले हारेसँगै जिम्बावेले आउँदाे अक्टोबर/नोभेम्बरमा भारतमा हुने विश्वकप खेल्ने सम्भावना सकिएकाे हाे ।
स्कटल्यान्डले दिएकाे २ सय ३५ रनकाे लक्ष्य पछ्याएकाे जिम्बावे ४१ ओभर १ बलमा २ सय ३ रनमा अलआउट भयाे । जिम्बावेका रायन बर्लले ८३ रन बनाए पनि जितका लागि पर्याप्त भएन । यस्तै वेस्ले मेधेभेरेले ४० र सिकन्दर राजाले ३४ रन बनाए । बलिङतर्फ स्कटल्यान्डका क्रिस साेलले ३ तथा ब्रान्डन म्याकमुलेन र माइकल लिस्कले २/२ विकेट लिए ।
जिम्बावे बाहिरिएसँगै अब आउँदाे बिहीवार हुने नेदरल्यान्ड्स र स्कटल्यान्डबीचकाे खेलले ‘सुपर सिक्स’ बाट विश्वकप पुग्ने अर्काे टाेलीकाे टुङ्गाे लाग्नेछ । त्याे खेलमा स्कटल्यान्ड विजयी हुँदा साेझै विश्वकपमा पुग्नेछ भने स्कटल्यान्डले हारेमा नेट रनरेटमा माथि रहने टाेली विश्वकपमा पुग्नेछ । अहिले स्कटल्यान्ड दाेस्राे र नेदरल्यान्ड्स चाैथाे स्थानमा छ । जिम्बावे तेस्राे स्थानमा भए पनि उसले सबै खेल खेलिसकेकाे छ । ‘सुपर सिक्स’ बाट श्रीलङ्का यसअघि नै विश्वकपमा पुगिसकेकाे छ ।











