काठमाडौं, १० असार। भक्तपुर नगरपालिकाकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट २ अर्ब २६ करोड ८५ लाख ९४ हजारको ल्याएको छ।
नगरपालिकाको चौधौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले बजेट प्रस्तुत गरेकी हुन्।
भक्तपुर नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा कार्यरत कर्मचारी तथा सहयोगीको तलबमा प्रतिव्यक्ति मासिक २ हजारको दरले थप पारिश्रमिक दिने घोषणा गरेको छ।
भक्तपुरले बजेटमार्फत साँस्कृतिक सङ्ग्रहालय निर्माणका लागि ५० लाख र कोसेली घर निर्माणका लागि ५० लाख रुपैयाँ छुट्याएको छ।
यस्तै भक्तपुरको लिवालीमा शीत भण्डार निर्माण गर्न १ करोड रुपैयाँ छुट्याएको छ । भक्तपुरले बजेटमार्फत आकाशे पानी संकलन गर्ने समेत घोषणा गरेको छ।
उपप्रमुख जोशीले खानेपानी व्यवस्थापन तथा आकाशे पानी संकलनको लागि १ करोड छुट्याएको बताइन्।
खेलकुद अन्तर्गत महेश्वरी स्टेडियम निर्माणमा १ करोड ५० लाख, बेखाल कभर्ड हल निर्माणमा १ करोड छुट्याएको छ।
नगरभित्रका उपयुक्त पोखरीहरुलाई पौडी पोखरीको रुपमा विकास गर्न ५० लाख बजेट विनियोजन गरेको बजेटमा उल्लेख छ।
नगरपालिकाले देको मिवा इटापाके आवास योजनाका लागि १८ करोड रुपैयाँ छुट्याएको छ ।
भक्तपुरको बजेटले यूवा उद्यमशील ऋणको व्यवस्था गर्न ५ करोड बराबरको ऋण कोषको व्यवस्था गरेको छ ।











