नेपाल टी–ट्वान्टी लिगमा जनकपुर विजयी , फार वेस्ट ८ विकेटले पराजित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, पुष १४ । काठमाडौंमा जारी रहेको पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा जनकपुरले फार वेस्ट युनाईटेडलाई पराजित गरेको छ ।

साथै जनकपुर रोयल्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिन सफल भएको छ । तेस्रो जित हात पार्ने क्रममा जनकपुरले फार वेस्टलाई ८ विकेटले पराजित गरेको हो । टियु मैदानमा भएको खेलमा फार वेस्टले दिएको १ सय ७० रनको लक्ष्य जनकपुरले १८.२ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । जनकपुरका लागि चाडविक वाल्टनले ४० बलमा २ चौका र ५ छक्काको सहयोगमा अविजित ६९ रनको अर्धशतकीय ईनिङ खेले । सन्दीप जोराले ५४ बलमा ३ चौका र ५ छक्काको सहयोगमा अविजित ७७ रनको अर्धशतकीय ईनिङ खेले । फार वेस्टका लागि करण केसीले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६९ रन बनायो । फार वेस्टका लागि करण केसीले सर्वाधिक४६ रन बनाए ।

त्यसअघि बिहीबार नै भएको खेलमा पोखरालाई विराटनगर सुपर किंग्सले ८ विकेटले पराजित गरेको हो । पोखराले दिएको १ सय ३६ रनको लक्ष्य विराटनगरले १८.४ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । विराटनगरका लागि रोहित पौडेलले अविजित ७१ रनको अर्धशतकीय ईनिङ खेले । त्यसअघि पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रन बनायो ।

डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्