बाम्राङका आगलागी पीडितलाई वडा कार्यालयको खाद्यान्न

न्युज कारखाना
  • ख-
  • ख+

खोटाङ, १० पुस  । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका आगलागी पीडितलाई राहत जुट्न थालेको छ । शनिबार दिउँसो विद्युत सर्ट भएर आगलागी हुँदा विस्थापित भएका मैयाँ श्रेष्ठ, कृष्ण श्रेष्ठ र कर्णकुमार श्रेष्ठको परिवारलाई संस्थागत र व्यक्तीगत रुपमा राहत तथा नगद सहयोग जुट्न थालेको हो ।

आगलागीबाट विचल्नीमा परेका आगलागी पीडितलाई आइतबार वडा कार्यालय बाम्राङले १६ हजार बराबरको चामल, दाल, नुनतेल र मसला उपलब्ध गराएको छ । वडाध्यक्ष महेन्द्र राईले आगलागी पीडितलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेका छन् । वडाध्यक्ष राईले व्यक्तीगत रूपमा प्रतिपरिवार दुई हजारका दरले अग्नी पीडितलाई आर्थिक सहयोग गरेका छन् । सोही कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी कार्यपालिका सदस्य मिना कार्कीले व्यक्तीगत रूपमा कुर्तासुरुवाल, चिया, चिनी, नुन, मसला प्रदान गरेकी छन् ।

यस्तै, ऐसेलुखर्कका रमेश राजभण्डारीले अग्नी पीडितलाई नगद २० हजार, पाँच वटा ज्याकेट र सानो बच्चाका लागि एकजोर जुत्ता प्रदान गरेका छन् । सोलुखुम्बु दुधकुण्ड नगरपालिका–५ का थिरबहादुर श्रेष्ठले आगलागी पिडितलाई सिरक, तन्ना र सिरानीको सेट सहयोग गरेका छन् । स्थानीय कालिका कृषक समुहले ३० हजार, १० जना छिमेकीबाट ३१ हजार ५८० र नौ छिमेकीबाट अन्न संकलन गरिएको आफन्त शिवकुमार श्रेष्ठले बताए ।

पीडितलाई प्राकृतिक प्रकोप सहयोग कोषको मल्हम

यस्तै, खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले मैयाँलाई १० हजार तथा कर्ण र कृष्णलाई सात/सात हजार आर्थिक सहयोग गरेका छन् । आगलागी पीडितलाई कोषका अध्यक्ष भोगेन एक्लेले नगद हस्तान्तरण गरेका छन् ।

खोटाङ समाज हङकङले स्थापना गरेको कोषबाट आगलागी पीडितलाई सहयोग प्रदान गरिएको कोषाध्यक्ष युगसन किरातले बताए । घटना लगत्तै आगलागीबाट विस्थापितलाई नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङले राहत प्रदान गरेको थियो ।

आगलागीमा तीन घर, नगद, सुन, मालसामान लगायत जल्दा ८४ लाख ५६ हजार ५०० बराबरको क्षती भएको छ ।

आगलागीबाट विस्थापित भएका मैयाँको परिवार आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन् । कृष्ण र कर्ण भने जलेकै घरमा बसिरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्