काठमाडौं, पुष ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सांसदको सपथग्रहण अगावै सरकार गठन गर्नु अनुचित रहेको बताउनुभएको छ ।
आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि अध्यक्ष दाहालले सांसदहरुको सपथग्रहण अगावै सरकार गठन गर्ने नजिर बसेको भन्दै त्यो गलत भएको बताउनुभएको हो । उहाँले सांसदहरुको शपथ ग्रहणपछि मात्रै सरकार र अन्य कामकारबाहीबारे अघि बढ्ने बताउनुभयो । उहाँले सामान्यतया निर्वाचन आयोगले राष्ट्रपतिकोमा र राष्ट्रपति कार्यालयबाट संसद सचिवालयमा निर्वाचित सांसदहरुको सूची बुझाएपछि जेष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर प्रतिनिधिसभाका सबै सदस्यहरुले सपथग्रहण गरेपछि मात्र सबै पार्टीहरुको संसदीय दलहरुको बैठक बसेर नेता छानिसकेपछि सरकार गठन प्रक्रिया अडाडि बढाउनु उचित हुने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष दाहालले पार्टी प्रतिनिधिसभामा २०७४ भन्दा खुम्चिनु गम्भीर विषय भएपनि भूमिकामा भने कम नहुने बताउनुभयो । त्यस्तै उहाँले राजनीतिक दलहरुको बीचमा आपसी छलफलबाट छिट्टै नै नयाँ सरकार गठन हुन्छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।
नयाँ सरकार गठनका लागि पार्टी अध्यक्ष दाहालले कसरत गरिरहेका बेला माओवादी केन्द्रले आइतबार पदाधिकारी बैठक बोलाएको हो । सत्तासमीकरण निर्माणबारे एमालेसँग समेत समानान्तर वार्तामा माओवादी केन्द्रका दोस्रो तहका नेताहरू रहेको समयमा अध्यक्ष दाहालले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफूलाई प्रधानमन्त्री बनाउन औपचारिक प्रस्ताव गर्नुभएको थियो ।











