बाजुरामा ट्र्याक्टर दुर्घटना : तीन जनाको मृत्यु, चार जना घाइते

खबर बुक
  • ख-
  • ख
  • ख+

बाजुरा । बाजुरामा शुक्रबार राति भएको ट्र्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

जगन्नाथ गाउँपालिकाको पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सु.प.प्र.०१–००२ त ४६८७ नम्बरको ट्र्याक्टर दाउणामा दुर्घटनामा परेको हो।

दुर्घटनामा परी जगन्नाथ गाउँपालिका–३, मनिकाँडाका ४५ वर्षीय धनरुप शाही, ३५ वर्षीय धर्म शाही र ५२ वर्षीया नामसरा देवी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक गगनसिंह भाटले जानकारी दिनुभयो।

दुर्घटनामा सोही स्थानका ४० वर्षीय बिउरा ओड, ४५ वर्षीया सिद्धा ओड, २२ वर्षीया सङ्गीता शाही र ट्र्याक्टर चालक २१ वर्षीय नवीन बोहरा घाइते भएका छन्। घाइतेहरूको कोल्टी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

अछामको रामारोशन गाउँपालिका–४ का नवीन बोहराले चलाएको ट्र्याक्टर अनियन्त्रित हुँदा सडकबाट करिब पाँच सय मिटर तल खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्