विमानस्थलबाट सुनजस्तो देखिने पदार्थसहित दुई चिनियाँ महिला पक्राउ

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित दुई चिनियाँ महिला पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चीनको ग्वाङ्दोङ स्थायी ठेगाना भएका ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन जिनपिङ रहेका छन्।

प्रहरीका अनुसार उनीहरू हिजो राति ११ बजेर १५ मिनेटमा क्याथे प्यासिफिक एयरलाइन्समार्फत हङकङबाट काठमाडौँ आएका थिए। भन्सार क्षेत्र पार गरी विमानस्थलबाट बाहिरिने क्रममा जाँच गर्दा उनीहरूले मलद्वार तथा भित्री वस्त्रभित्र प्लास्टिकले बेरेर लुकाइछिपाइ ल्याएको अवस्थामा आठ थान गोलाकार अर्धठोस पदार्थ फेला परेको हो।

प्लास्टिकको र्‍यापसहित बरामद गरिएको उक्त पदार्थको तौल दुई किलो ३४८ ग्राम रहेको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार पक्राउ परेका दुवै महिलामाथि आवश्यक अनुसन्धान भइरहेको छ। उनीहरूलाई आजै थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ।

बरामद पदार्थ सुन नै हो वा होइन भन्ने पुष्टि हुन भने परीक्षण आवश्यक हुनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्