कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, स्थानीय निर्वाचनदेखि सुकुमवासी व्यवस्थापनसम्म छलफल हुने

खबर बुक
  • ख-
  • ख
  • ख+

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहान ११ बजे बस्दै छ। ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा सभापति गगनकुमार थापाको सभापतित्वमा बैठक बस्न लागेको हो।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार हिजो बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले आजको बैठकका लागि प्रस्तावित कार्यसूची प्रस्तुत गरेका थिए।

प्रस्तावित कार्यसूचीअनुसार बैठकमा पार्टी सङ्गठनको आगामी कार्यभार, विपद्पछिको पुनःस्थापना तथा पुनःनिर्माण, विस्थापित सुकुमवासीको व्यवस्थापन र स्थानीय निर्वाचनका विषयमा छलफल हुनेछ।

सङ्गठनको आगामी कार्यभारअन्तर्गत ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने विषय पनि कार्यसूचीमा समेटिएको छ। त्यस्तै, भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा विपद्पछिको पुनःस्थापना तथा पुनःनिर्माण, सुकुमवासी व्यवस्थापनलगायत नागरिक सरोकारका विषयमा छलफल हुने जनाइएको छ।

यसैगरी, सरकारका पछिल्ला गतिविधि र आगामी स्थानीय निर्वाचनका विषयमा प्रारम्भिक छलफल गर्ने कार्यसूचीसमेत तय गरिएको छ। बैठकमा विविध समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ।

यसअघि हिजो बसेको बैठकको प्रारम्भमा सभापति थापाले समसामयिक राजनीतिक विषयवस्तुका सम्बन्धमा विशेष सम्बोधन गरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्