देउसीभैलो कार्यक्रमका क्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ निवासी ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ निवासी २१ वर्षीया प्राप्ती बस्नेत रहेका छन् ।
उनीहरूमाथि रुपन्देहीका विभिन्न स्थानमा आयोजित देउसीभैलो कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति,सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत हुने गरी नृत्य प्रदर्शन गरेको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका नायब उपरीक्षक कृष्णकुमार चन्दले दिएको जानकारीअनुसार उनीहरूलाई बुधबार राति करिब १२ः५ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित महिलवार बजारबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवै महिलामाथि सार्वजनिक हित तथा नैतिकताविरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।





