गोकर्णेश्वरको घुम्ती स्वास्थ्य सेवा प्रभावकारी बन्दै, सार्वजनिक बिदा र दशैँमा पनि घरदैलोमै उपचार

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । सार्वजनिक बिदा र दशैँको चहलपहलबीच गोकर्णेश्वर नगरपालिकाले स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ भोगिरहेका नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ।

नगरपालिकाले सुरु गरेको घुम्ती स्वास्थ्य सेवाअन्तर्गत शनिबार स्वास्थ्यकर्मीको टोली गोकर्णेश्वर नगरपालिका–५ निवासी रणकेशर डाँगीको घरमै पुगेर स्वास्थ्य परीक्षण तथा थेरापीसम्बन्धी परामर्श दिएको छ।

सन् २००८ मा वैदेशिक रोजगारीका क्रममा भएको सवारी दुर्घटनामा घाइते भएका डाँगी लामो समयदेखि शारीरिक समस्यासँग जुधिरहेका छन्। दुर्घटनापछि देखिएको स्वास्थ्य समस्याका कारण उनलाई दैनिक जीवनयापनमा समेत कठिनाइ हुँदै आएको छ।

पछिल्लो समय पुरानो स्वास्थ्य समस्या बल्झिएपछि थप उपचार तथा थेरापीको आवश्यकता परे पनि शारीरिक असहजताका कारण अस्पतालसम्म पुगेर नियमित सेवा लिन उनलाई कठिन भइरहेको थियो।

यही अवस्थामा नगरपालिकाको घुम्ती स्वास्थ्य सेवा उनका लागि राहत बनेको छ। शनिबार चिकित्सकसहितको स्वास्थ्यकर्मी टोली डाँगीको घरमै पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक परीक्षण तथा थेरापी सेवासम्बन्धी परामर्श प्रदान गरेको हो। उक्त अवसरमा गोकर्णेश्वर नगरपालिका–५ का वडा सदस्य श्रीबहादुर योगीसमेत उपस्थित थिए।

नगरपालिकाले एक साताअघि मात्रै घुम्ती स्वास्थ्य सेवा सुरु गरेको हो। ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अशक्त तथा विभिन्न कारणले स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ भोगिरहेका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको यस सेवाले आवश्यकतामा परेका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य राखेको छ।

घरमै स्वास्थ्य सेवा पुर्‍याउने अभियानलाई प्रभावकारी बनाउन नगरपालिकाले आवश्यक साधनको व्यवस्थापनमा समेत जोड दिएको छ। घुम्ती स्वास्थ्य सेवा सञ्चालनका लागि नगर प्रमुख दीपककुमार रिसालले नगर अस्पताललाई दुईवटा स्कुटर हस्तान्तरण गरेका थिए। ती साधनको व्यवस्थाले स्वास्थ्यकर्मीलाई सेवाग्राहीको घरसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ।

घुम्ती स्वास्थ्य सेवाको उद्घाटनका क्रममा नगर प्रमुख रिसालले उपचारका लागि नागरिकले जसरी पनि अस्पताल पुग्नुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने बताएका थिए। उनले स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई उनीहरूकै घरदैलोमा सेवा पुर्‍याउने अवधारणालाई प्राथमिकता दिएका थिए।

सार्वजनिक बिदा र चाडपर्वको समयमा समेत घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने यो प्रयासले स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने नागरिकलाई राहत दिने अपेक्षा गरिएको छ। उपचारका लागि अस्पताल धाउन कठिनाइ हुने ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा अशक्त नागरिकका लागि घुम्ती स्वास्थ्य सेवा सहज पहुँच र नागरिकमैत्री स्वास्थ्य सेवाको महत्वपूर्ण माध्यम बन्न सक्ने देखिन्छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्