२२ असोज, काठमाडौं । नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले आफूलाई पक्राउ गर्न प्रहरी परिचालन भएको भन्ने खबरमा सत्यता नभएको प्रतिक्रिया दिएका छन् ।
आज बिहानैदेखि सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा बस्नेतलाई नियन्त्रणमा लिन भक्तपुरको गुण्डु क्षेत्रमा प्रहरी खटिएको भन्ने व्यहोराका समाचार तथा सूचना सम्प्रेषित भएका थिए । सामाजिक सञ्जाल फेसबुकबाट त्यसको खण्डन गर्दै बस्नेतले आफ्नो चरित्रहत्या गर्न भ्रमपूर्ण प्रचार गरिएको बताएका हुन् ।
‘केही गलत मनशाय बोकेका आपराधिक तत्वले फेसबुकमा झुटा पोस्ट हाल्ने,चरित्रहत्या गर्ने,अनि त्यही झुठलाई आधार बनाएर समाचार बनाउने केही अनलाइन मिडिया देख्दा दया लागेर आउँछ’, उनले लेखेका छन्, ‘सत्य,प्रमाण र जिम्मेवारीबिनाको यस्तो पत्रकारिताले अन्ततः मिडियाकै विश्वसनीयता समाप्त गर्छ ।’
सरकारको आलोचना गरेकै भरमा साइबर बुलिङ भइरहेको र त्यसबारे उजुरी गर्दा पनि साइबर ब्युरो, प्रेस काउन्सिलजस्ता राज्यका निकाय रमिते बनेको गुनासोसमेत बस्नेतले गरेका छन् ।
बस्नेतलाई समात्न प्रहरी खटिएको भन्ने समाचार जनआस्था अनलाइनमा पनि प्रकाशित थियो । फेसबुकमा खण्डन आएलगत्तै हामीले थप कुराकानी गर्दा उनले ‘फिटम्यान’ नामक एक व्यक्तिले आफ्नोबारे भ्रामक सूचना सञ्जालमा राखेको र त्यसैमा टेकेर समाचार बनाइएको भन्दै गुनासो गरे ।
अमेरिकामा बसेर पुराना भनिएका नेपाली कांग्रेस,एमाले र माओवादी नेताहरूलाई गालीगलौज गर्दै फेसबुकमा जथाभावी लेख्दै भ्यूज बटुल्ने गरेका पात्र हुन्, ‘फिट म्यान’ । उनले भ्रमपूर्ण प्रचार गर्दै आएका छन् । त्यसकारण निजको फेसबुक स्टाटसलाई स्रोत बनाएर समाचार लेखिएको होइन ।
एमालेसम्वद्ध युवा संघ स्रोतले दिएको सूचनाका आधारमा समाचार लेखिएको र त्यसको पुष्टि गर्न बस्नेतलाई फोन गर्दा सम्पर्क हुन नसकेको कुरा जानकारी गराउन चाहन्छौँ । यद्यपि उनले समाचारको खण्डन गरेको र प्रहरी-प्रशासनबाट पनि थप पुष्टि हुन नसकेकाले यसअघि प्रकाशित समाचार हटाइएको छ ।










