काठमाडौं । नेकपा एमाले कार्यदलको बैठकले साझा प्रतिवेदन तयार पारेर पार्टी सचिवालय र केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय गरेको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा नमाग्ने र आलोचना नगर्ने सहमति भएको दाबी गरे ।
कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ र सदस्य सचिव शंकर पोखरेलले तयार पारेका छुट्टाछुट्टै मस्यौदा बैठकमा प्रस्तुत गरिएको थियो । दुवै मस्यौदालाई समेटेर साझा प्रतिवेदन तयार गर्ने जिम्मेवारी यसअघि तोकिएका तीन जना नेताले पाएको बस्नेतले बताए ।
बस्नेतका अनुसार अध्यक्षको आलोचना नगर्ने, राजीनामा नमाग्ने वा पदबाट हटाउने विषय नउठाउने तथा विशेष महाधिवेशन नगर्ने सहमति भएको छ । ७० वर्षे उमेरहद, दुई कार्यकाल र नेतृत्व परिवर्तनको विषय भने आगामी नियमित महाधिवेशन वा विधान अधिवेशनमा छलफल हुने उनले बताए ।
कार्यदलमा १३ वटा समूहबाट प्राप्त सुझावलाई प्रतिवेदनको अनुसूचीमा समावेश गर्ने सहमति भएको पनि बस्नेतले जानकारी दिए ।
एमालेलाई थप जुझारु ढंगले अघि बढाउने र सरकारको ‘अधिनायकवादी शैली’ विरुद्ध सशक्त रूपमा आन्दोलन गर्न प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय भएको उनको भनाइ छ ।
नियमित विधान महाधिवेशनमा विभिन्न विषयमा छलफल गरी उपयुक्त निर्णय गर्ने मनसाय सबै नेताहरूमा रहेको बस्नेतले बताए ।











