नयाँ दिल्ली, ३० भदौ। ‘तहेल्का’ पत्रिकाका पूर्व प्रधान सम्पादक तरुण तेजपालले सोमबार, १४ सेप्टेम्बरका दिन गोवा प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।
बम्बे उच्च अदालतको गोवा इजलासले ६ अगस्टमा उनलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै १० वर्षको जेल सजाय सुनाएको थियो। त्यसपछि तेजपाल सर्वोच्च अदालत पुगेका थिए; सर्वोच्च अदालतको आदेशपछि मात्र उनले आत्मसमर्पण गरेका हुन्।
‘इन्डिया टुडे’ का अनुसार सर्वोच्च अदालतले २५ अगस्टमा आदेश जारी गर्दै तरुण तेजपालले दुई साताभित्र आत्मसमर्पण गरेमा मात्र उनको निवेदन स्वीकार गरिने जनाएको थियो। आफ्नो निवेदन स्वीकार गराउन उनले आत्मसमर्पण गरेको प्रमाणपत्र बुझाउनु पर्नेछ।
प्राप्त जानकारी अनुसार, तेजपालले मापुसास्थित अतिरिक्त सत्र अदालतसमक्ष आत्मसमर्पण गरेका हुन । त्यसपछि, १० वर्षको सजाय भुक्तान गर्न उनलाई उत्तर गोवाको कोलभेल केन्द्रीय कारागार पठाइयो। यद्यपि, तरुण तेजपालले आफू पुनः सर्वोच्च अदालत जाने बताएका छन्। उनले सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरे।
सर्वोच्च अदालतले आत्मसमर्पण गरेको प्रमाणपत्र पेस गर्ने सर्तमा तरुण तेजपालको निवेदनलाई सेप्टेम्बर २२ मा सुनुवाइका लागि सूचीकृत गरेको छ। यसअघि उच्च अदालतले पनि उनलाई आत्मसमर्पण गर्न चार साताको समय दिएको थियो। सोही अवधिमा, अर्थात् अगस्ट २० मा उनले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए जुन खारेज भयो। उनले आफूलाई १० वर्षको जेल सजाय सुनाउने उच्च अदालतको अगस्ट ६ को आदेशलाई चुनौती दिएका थिए।
सन् २०२१ मा सेसन्स कोर्टले तेजपाललाई सबै आरोपबाट सफाइ दिएको थियो। त्यसपछि गोवा सरकारले यस फैसलालाई बम्बे उच्च अदालतमा चुनौती दियो। ६ अगस्टमा उच्च अदालतले उक्त सफाइको फैसला उल्ट्याउँदै उनलाई बलात्कार र यौन दुर्व्यवहारको कसुरमा दोषी ठहर गर्यो।
यो सम्पूर्ण घटना ७ नोभेम्बर २०१३ मा गोवामा आयोजित ‘थिंक फेस्ट’ का क्रममा सुरु भएको हो। आरोप अनुसार तरुण तेजपालले उक्त कार्यक्रममा सहभागी ‘तहेल्का’ की एक कनिष्ठ महिला पत्रकारसँग होटलको लिफ्टभित्र जबरजस्ती यौन सम्बन्ध राख्ने प्रयास गरेका थिए।









