काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले अदालतमा विचाराधीन विषयलाई बेवास्ता गर्दै एकतर्फी रूपमा महाधिवेशनको प्रक्रिया अघि बढाउनु उचित नहुने बताएको छ।
देउवा समूहले गठन गरेको महाधिवेशन आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाले पार्टीभित्रको वर्तमान विवाद र विवादित कार्यतालिकाप्रति असन्तुष्टि जनाउँदै अदालतको फैसला तथा सहमतिको प्रक्रियालाई बेवास्ता गर्न नहुने बताएका हुन्।
मंगलबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कोइरालाले कांग्रेस अहिले असहज र चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताए। पार्टीको वैधानिकता, लोकतान्त्रिक संस्कार र संगठनात्मक एकता संकटमा परेको भन्दै उनले नेतृत्वको कार्यशैलीप्रति प्रश्नसमेत उठाए।
‘पार्टीको आधिकारिकतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा एकतर्फी रूपमा अधिवेशन र महाधिवेशनको कार्यतालिका घोषणा गरिनु दुर्भाग्यपूर्ण छ,’ कोइरालाले भने, ‘अदालतको फैसला नपर्खी वा वार्ता र संवादमार्फत सहमति नखोजी एकलौटी रूपमा अगाडि बढ्नु कुनै पनि हालतमा उचित मान्न सकिन्न।’
उनले पद बाँडफाँडलाई मात्र समाधानको आधार बनाउने प्रवृत्तिले कांग्रेसको गौरवशाली इतिहास र लोकतान्त्रिक संस्कार कमजोर हुने चेतावनी दिए। नेता–कार्यकर्ताको आत्मसम्मान कुनै पनि पदको सौदाबाजीको विषय हुन नसक्ने उनको भनाइ छ।
कोइरालाले असोज ३ गतेदेखि सुरु गर्ने भनिएको संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुनसमेत आग्रह गरेका छन्।
‘विधि र प्रक्रिया मिचेर सुरु गर्ने भनिएको अधिवेशनमा भाग नलिइयोस्,’ उनले भने, ‘१४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज १५ गतेदेखि सञ्चालन हुने वडा अधिवेशनलगायत तहका कार्यक्रममा सक्रिय सहभागिता जनाउन सम्पूर्ण साथीहरूलाई हार्दिक अनुरोध गर्दछौँ।’
कोइरालाले आगामी मंसिर २१, २२ र २३ गते हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन समेत कांग्रेसका नेता–कार्यकर्तालाई आह्वान गरेका छन्।









