ग्यासको कालोबजारीविरुद्ध विद्यार्थी संगठनको प्रदर्शन (तस्वीर)

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको र नागरिकहरू आधारभूत आवश्यकताका लागि दिनहुँ लाइनमा बस्नुपर्दा पनि सरकार मूकदर्शक बनेको भन्दै शुक्रबार विभिन्न विद्यार्थी संगठनका नेता–कार्यकर्ताले नेपाल आयल निगमको कार्यालय अगाडि प्रदर्शन गरेका छन्।

मुलुक प्राकृतिक विपत्ति र शोकमा रहेका बेला बजारमा ग्यासको कृत्रिम अभाव र कालोबजारी मौलाएको भन्दै संयुक्त विद्यार्थी आन्दोलनसम्बद्ध विद्यार्थीहरूले निगमको केन्द्रीय कार्यालय घेराउ गर्दै प्लेकार्डसहित विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले सरकारको लाचारीप्रति व्यंग्य गर्दै ‘जनता अनेक संकटमा, किन चाहियो सरकार फोकटमा ?’ र ‘ग्यासको कालोबजारी बन्द गर’ लेखिएका प्लेकार्ड बोकेका थिए।

त्यसैगरी, नागरिकले भोगिरहेको सास्तीलाई संकेत गर्दै उनीहरूले ‘सरकार लाइनमा–ग्यासको, अस्पतालको, पासपोर्टको, लाइसेन्सको’ भन्दै राज्य संयन्त्रको ध्यानाकर्षण गराएका छन्।

विपद् र शोकको घडीमा समेत नागरिकलाई ठग्ने तथा कालोबजारी गर्नेहरूलाई तत्काल कानुनी दायरामा ल्याउन विद्यार्थी संगठनहरूले माग गरेका छन्।

विद्यार्थीहरूले ‘शोकको बेला लुट्ने र लुटाउने अपराधी हुन्, अपराधीलाई कारबाही गर !’ लगायतका नारासहित विरोध प्रदर्शन गरेका हुन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्