काठमाडौँ । काठमाडौँको तीनकुनेस्थित गैरीगाउँबाट प्रहरीले ७०५ सिलिन्डर ग्यास बरामद गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई वटा ठूला ट्रकमा लोड गरिएको अवस्थामा ग्यास बरामद गरेको हो।
ग्यास कालोबजारी गरेको आरोपमा प्रहरीले बसुन्धारास्थित जय श्री बालाजी ग्यास स्टोरका सञ्चालक दिनेश लुइँटेललाई पक्राउ गरेको छ। ३८ वर्षीय लुइँटेल मोरङको ग्रामथान गाउँपालिका–२ का स्थानीय हुन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार लुइँटेलले बसुन्धारामा सञ्चालन गरेको ग्यास स्टोरबाट प्रति सिलिन्डर २ हजार ७५० रुपैयाँमा ग्यास बिक्री गर्ने गरेको पाइएको छ।
बरामद भएका सबै सिलिन्डर नेपाल ग्यास कम्पनीका हुन्। एसपी कार्कीका अनुसार आरोपीले नयाँ सिलिन्डरसमेत ५ हजार रुपैयाँमा बिक्री गर्ने गरेको पाइएको छ।










