रसुवा बाढीमा सरकारको खोज, उद्धार र राहत प्रभावकारी भएन : केपी ओली

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढीपछि सरकारले खोज, उद्धार र राहतको काम प्रभावकारी रूपमा गर्न नसकेको आरोप लगाएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले राजधानी प्रदेश कमिटीले बाढीपीडितका लागि हस्तान्तरण गरेको १० लाख रुपैयाँको चेक ग्रहण गर्दै ओलीले सरकारको विपद् व्यवस्थापन कार्यप्रति असन्तुष्टि जनाएका हुन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा मन्त्रीहरूलाई लक्षित गर्दै केहीले नागरिकलाई हप्कीदप्की गरेर फर्किने, केहीले आधारहीन निर्देशन दिने र केहीले समस्यामाथि थप समस्या सिर्जना गर्ने टिप्पणी गरे।

ओलीले विपद्पछि केन्द्रीय सरकारलाई नै खोज्नुपर्ने अवस्था आएको टिप्पणी गरे। निजी क्षेत्रका हेलिकप्टरलाई उद्धार कार्यमा प्रयोग गर्न सरकारले रोक लगाएको भन्दै उनले असन्तुष्टिसमेत व्यक्त गरे।

उद्धारका लागि तालिमप्राप्त जनशक्ति तथा हेलिकप्टर भएका निजी क्षेत्रलाई परिचालन गर्न दिए अझ प्रभावकारी रूपमा उद्धार गर्न सकिने भए पनि सरकारको त्यसतर्फ ध्यान नपुगेको उनको भनाइ थियो।

अध्यक्ष ओलीले सुरुङभित्र तथा अन्य जोखिमयुक्त क्षेत्रमा हेलिकप्टरबाट मात्र उद्धार सम्भव नहुने बताए। पीडित परिवारलाई आफ्ना आफन्तको खोजी गर्नसमेत सरकारले नदिएको भन्दै उनले आपत्ति जनाए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्