चीनतर्फबाट रसुवाको भोटेकोसी नदी हुँदै आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ र पश्चिम नवलपरासीसम्म ठूलो जनधनको क्षति पुर्याएको छ। यस प्राकृतिक विपत्तिले देशलाई नै शोकमा डुबाएको छ।
बाढीमा परी कैयौँ नागरिकको ज्यान गएको छ भने ठूलो सङ्ख्यामा तीर्थयात्री, पर्यटक, सुरक्षाकर्मी तथा नदी तटीय क्षेत्रका नागरिक सम्पर्कविहीन भएका छन्। सडक, पुल, जलविद्युत् आयोजना, विद्यालयलगायतका महत्वपूर्ण संरचनामा समेत व्यापक क्षति पुगेको छ। क्षतिको पूर्ण विवरण आउन अझै बाँकी छ।
सरकारले बाढी प्रभावित क्षेत्रलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्दै घाइतेको निःशुल्क उपचार, तत्काल उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरण र घर गुमाएकाहरूका लागि खाने–बस्ने व्यवस्था गर्ने निर्णय गरेको छ। यो संकटको घडीमा सबै राजनीतिक दल र नागरिक समाजले पनि उद्धार तथा राहतमा सक्रिय भूमिका खेल्नु आवश्यक छ।
यस्तो राष्ट्रिय विपत्तिका बेला राजनीति र दलगत स्वार्थभन्दा माथि उठेर सबै एकजुट हुनुपर्छ। दलको झन्डाभन्दा देशको झन्डा बोकेर पीडित नागरिकको उद्धार र राहतमा जुट्नुपर्छ। सरकार, राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय तह तथा नागरिक सबैको सहकार्य अहिलेको आवश्यकता हो।
सरकारले उद्धार, राहत, पुनर्स्थापना र क्षतिपूर्तिका कामलाई तीव्र बनाउन आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गर्नुपर्छ। राजनीतिक दलका कार्यकर्तादेखि स्थानीय समुदायसम्मलाई व्यवस्थित रूपमा उद्धार तथा राहत अभियानमा जोड्न सकिन्छ।
२०७२ सालको भूकम्पलगायतका विपत्तिमा नेपाली समाजले देखाएको एकता र सहयोगको भावना यसपटक पनि कायम रहनुपर्छ। स्वार्थभन्दा माथि उठेर मानवीय सेवामा जुट्नु नै अहिलेको सबैभन्दा ठूलो जिम्मेवारी हो।
स्थानीय सरकारको भूमिका पनि यतिबेला अझ प्रभावकारी हुनुपर्छ। आपत्कालीन सुरक्षा रणनीति अपनाउँदै नागरिकको ज्यान जोगाउन सबै स्रोतसाधन परिचालन गर्नुपर्छ। राहत वितरणमा बेथिति नहोस् भन्नका लागि पारदर्शी र एकद्वार प्रणाली अपनाउनु आवश्यक छ।
सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरू पनि यस संकटमा अझ जिम्मेवार बन्नुपर्छ। अपुष्ट तथा भ्रामक सूचना फैलाउँदा थप क्षति हुन सक्छ। त्यसैले सही, आधिकारिक र चेतनामूलक सूचना प्रवाह गर्दै उद्धार तथा राहत कार्यमा सहयोग पुग्ने वातावरण बनाउनुपर्छ।
यस विपत्तिमा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ। शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस्।
रेडियो काठमाडौं ९२.१ मेगाहर्ज परिवार सबैमा आग्रह गर्दछ-विपत्तिको यस घडीमा आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरौँ, उद्धार र राहतमा एकसाथ जुटौँ।










