‘५० करोडको हल्ला’ पुष्टि गर्न प्रचण्डपुत्री गङ्गाकाे चुनौती, छानबिनका लागि तयार

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पुत्री एवं स्वकीय सचिव गङ्गा दाहालले आफ्नो परिवारमाथि लगाइएका आर्थिक आरोपहरूको कडा शब्दमा खण्डन गरेकी छिन् ।

सामाजिक सञ्जालमार्फत एक स्पष्टीकरण दिँदै उनले आफू र आफ्नो परिवारविरुद्ध नियोजित रूपमा अफवाह फैलाइएको बताएकी छन् ।

विगतमा ‘दुबईमा ४० अर्ब रहेको’ र ‘भाटभटेनी लगायतका ठूला व्यापारिक घरानासँग साँठगाँठ रहेको’ भनी लगाइएका आरोपहरू पुष्टि हुन नसकेपछि अहिले फेरि ‘५० करोडको हावादारी हल्ला’ चलाइएको दाहालको भनाइ छ । उनले यस्ता आरोप फैलाउनेहरूलाई त्यसको पुष्टि गर्न सार्वजनिक चुनौती समेत दिएकी छिन् ।

‘राजनीतिक प्रतिशोध र विरोधी बन्नुको पनि सीमा हुन्छ होला ! कुनै पनि आरोप पुष्टि नभएपछि अहिले बजारमा ५० करोडको हावादारी हल्ला चलाउन खोजिएको रहेछ,’ दाहालले लेखेकी छिन्, ‘म सार्वजनिक रूपमा चुनौती दिन चाहन्छु, अफवाह फैलाउनेहरूले यसको पुष्टि गर्न सक्छन् ?’

आफू र आफ्नो परिवार जुनसुकै कानुनी छानबिनका लागि सधैँ तयार रहेको उल्लेख गर्दै उनले भनिन्, ‘हामीले हाम्रो सम्पत्ति विवरण सरकार समक्ष केही समयअघि नै बुझाइसकेका छौँ । सरकारले गर्ने जुनसुकै अनुसन्धानका लागि हाम्रो सहयोग रहनेछ । गलत गरेको पुष्टि भए कारबाही भोग्नेछौँ ।’

आफ्नो बाल्यकाल क्रान्ति र असामान्य परिस्थितिमा बितेको स्मरण गर्दै उनले जनतालाई धोका दिनुभन्दा मृत्यु स्वीकार गर्ने आफ्नो ‘स्कुलिङ’ रहेको बताइन् ।

‘हामी मृत्युको मुखबाट बाँचेर आएका हौँ । हामीलाई के गर्न हुन्छ, के गर्न हुँदैन, राम्रोसँग थाहा छ,’ उनले भनेकी छन्, ‘हामी मृत्युवरण गर्छौँ तर जनतालाई धोका दिन सक्दैनौँ, यही नै हाम्रो स्कुलिङ हो ।’

छोरीको नाताले बुवालाई सहयोग गर्नुलाई ‘अपराध’ को रूपमा चित्रण नगर्न पनि उनले आग्रह गरेकी छिन् । बेला-बेलामा यस्ता नियोजित अफवाहहरू किन र कुन उद्देश्यले फैलाइन्छ भन्दै उनले सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएकी छिन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्