कांग्रेसको इतर समूहको राष्ट्रिय भेलामा ५ प्रतिवेदन परिमार्जनसहित पारित

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलामा प्रस्तुत गरिएका पाँचवटै प्रतिवेदन परिमार्जनसहित पारित भएका छन्।

काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा शुक्रबारदेखि जारी राष्ट्रिय भेलामा शनिबार पाँचवटा प्रतिवेदन प्रस्तुत गरिएको थियो। ती प्रतिवेदनमाथि सहभागी प्रतिनिधिहरूले समूहगत रूपमा छलफल गरेका थिए।

भेलामा पूर्वउपसभापति विमलेन्द्र निधिले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव, पूर्वकोषाध्यक्ष उमाकान्त चौधरीको सांगठनिक प्रस्ताव, एनपी साउदको समसामयिक नीति तथा विषयसम्बन्धी प्रस्ताव, डा. प्रकाशशरण महतको नेपालको आर्थिक नीतिसम्बन्धी प्रस्ताव र नेता रमेश लेखकले प्रस्तुत गरेको कानुन तथा विधानसम्बन्धी प्रस्ताव परिमार्जनसहित पारित भएका हुन्।

प्रतिनिधिहरूलाई विभिन्न विषय तथा प्रदेशका आधारमा समूहमा विभाजन गरी प्रस्तावहरूमाथि छलफल गराइएको थियो। छलफलका क्रममा समूहका टोली नेताहरूले प्रतिवेदनमा समेटिनुपर्ने तथा परिमार्जन गर्नुपर्ने विषयबारे सुझाव दिएका थिए।

प्रतिनिधिहरूबाट प्राप्त सुझाव तथा धारणामाथि सम्बन्धित प्रतिवेदन प्रस्तुतकर्ताहरूले जवाफ दिएपछि पाँचवटै प्रतिवेदन आवश्यक परिमार्जनसहित पारित गरिएको हो।

राष्ट्रिय भेलामा कांग्रेसको वर्तमान राजनीतिक अवस्था, संगठन सुदृढीकरण, समसामयिक नीति, आर्थिक नीति तथा कानुन र विधानका विषयमा छलफल भइरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्