विराटनगर । सुनसरीको देवानगञ्ज घटनामा मृत्यु भएका परिवारहरूले शव बुझ्न तयार भएका छन् ।
प्रहरीको समन्वयपछि शव बुझ्ने प्रक्रिया सुरु भएको मोरङका प्रहरी उपरीक्षक कविद् कट्टुवालले बताए । उनले मुचुल्का उठाउने काम भइरहेको बताए ।
गृहमन्त्री सुधन गुरुङसँग औपचारिक सहमति भइसकेपछि पनि देवानगञ्ज-३ कप्तानगञ्ज गोली काण्डमा मृत्यु भएका परिवारका आफन्तले हिजो शव बुझ्ने र आज अन्त्येष्टि गर्ने सहमति भएको थियो । सहमति अनुसार दिउँसो शव बुझ्न मृतकका परिवार विराटनगर आएका थिए ।
विराटनगर आएपछि सिराह गोली काण्डमा मृत्यु भएका परिवारसँग पनि गृहमन्त्रीले सम्झौता गर्नु पर्ने माग नयाँ माग आएपछि उनीहरूले शव बुझ्न अस्वीकार गरेर पुन सुनसरी फर्किएका थिए ।
मोरङ प्रहरीको समन्वयमा पुन उनीहरूले शव बुझ्न सहमति भएको हो । आइतबार राती देवानगञ्ज ३ मा दुई समुदायका बिचमा भएको झडप नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरीको गोली लागि स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।
गोली लागि घाइते भएका जयप्रकाश मेहताको हिजो उपचारका क्रममा मृत्यु भएको थियो । उनीहरूले शव बुझेपछि पोस्टमार्टम गरेर आजै अन्त्येष्टि गर्ने बताइएको छ ।










