हुथीको साउदी तेल ट्याङ्करमा आक्रमण, पश्चिम एसियामा तनाव थप चर्कियो

खबर बुक
  • ख-
  • ख+

साना । इरान समर्थित यमनका हुथी विद्रोहीहरूले लाल सागरमा दुईवटा साउदी तेल ट्याङ्करमाथि ड्रोन र क्षेप्यास्त्र प्रयोग गरेर आक्रमण गरेको दाबी गरेका छन् । उता अमेरिकाले इरानमाथि लगातार १२औँ रात पनि हवाई आक्रमण जारी राखेको छ, जसले पश्चिम एसियाको तनावलाई थप चर्काएको छ ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी आक्रमणमा बुधबार दुई जनाको मृत्यु भएको छ । साथै, स्ट्रेट अफ होर्मुजमा बारुदी सुरुङ भएको मार्गमा भएको विस्फोटपछि एउटा तेल ट्याङ्करमा आगलागी भएको र अन्य दुई ट्याङ्करलाई अघि बढ्नबाट रोकिएको दाबी गरिएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले स्ट्रेट अफ होर्मुजमा कुनै जहाजमाथि आक्रमण गरेमा इरानको कुनै पुल वा विद्युत् केन्द्र ध्वस्त पार्ने चेतावनी दिएका थिए । उनले हुथीहरूले लालसागर अवरुद्ध गरेमा उनीहरूलाई पनि ‘कडा जवाफ’ दिने बताएका थिए । यदि पुष्टि भयो भने, साउदी अरबविरुद्ध हुथीहरूले घोषणा गरेको समुद्री नाकाबन्दीपछि भएको यो पहिलो आक्रमण हुनेछ ।

हुथीहरूले एनसिलिया र लेला नाम गरेका दुई साउदी तेल ट्याङ्करलाई निशाना बनाएको दाबी गरेका छन् । यद्यपि, लेलामाथिको आक्रमण स्वतन्त्र रूपमा पुष्टि भएको छैन । हुथी सैन्य प्रवक्ता यह्या सारीले यी जहाजहरूले हुथीहरूको समुद्री नाकाबन्दी उल्लङ्घन गरेको आरोप लगाउँदै ड्रोन र मिसाइलद्वारा आक्रमण गरिएको बताए । ‘नाकाबन्दीको जवाफ नाकाबन्दी’ भन्ने रणनीति जारी रहने पनि उनले बताए ।

साउदी सरकारी समाचार संस्था एसपीएले एनसिलिया लाल सागरमा यात्रा गरिरहेको बेला प्रहार भएको पुष्टि गरेको छ । आक्रमणमा परेर जहाजको अगाडिको भागमा आगलागी भए पनि सबै चालक दल सुरक्षित रहेको जनाइएको छ ।

बेलायतको समुद्री व्यापार सञ्चालन यूकेएमटीओले पनि साउदी तटबाट करिब १३० किलोमिटर टाढा एउटा अज्ञात प्रक्षेप्यास्त्रले तेल ट्याङ्करमा प्रहार गरेको र त्यसबाट आगलागी भएको तर कुनै मानवीय क्षति नभएको जनाएको छ ।

अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) ले राष्ट्रपति ट्रम्पको निर्देशनमा इरानका सैन्य लक्ष्यहरूमाथि आक्रमण गरिएको जनाएको छ । आक्रमणमा समुद्री सैन्य क्षमता, मिसाइल र ड्रोन भण्डारण केन्द्र, तटीय निगरानी स्थल, हवाई प्रतिरक्षा प्रणालीलाई निशाना बनाएको बताइएको छ ।

सेन्टकमका अनुसार यी कारबाहीहरू क्षेत्रीय जलमार्ग हुँदै यात्रा गर्ने व्यापारिक जहाजहरूको सुरक्षा सुनिश्चित गर्न गरिएको हो । उता, इरानी सरकारी सञ्चारमाध्यमले अमेरिकी आक्रमणमा दक्षिणी इरानमा दुई जनाको मृत्यु भएको बताइएको छ ।

उसका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड (आईआरजीसी)ले स्ट्रेट अफ होर्मुज पूर्ण रूपमा बन्द भएको दाबी गरेको छ । तीनवटा तेल ट्याङ्करलाई उक्त जलमार्ग पार गर्नबाट रोकिएको र एउटा ट्याङ्करमा आगलागी भएको र अन्य दुई फर्किएको पनि भनिएको छ ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाको आक्रमणको जवाफ ‘आँखाको बदलामा आँखा’ शैलीमा दिइने चेतावनी दिएका छन् । यसअघि ट्रम्पले हुथीहरूले बाब अल–मन्दब स्ट्रेट बन्द गरेमा उनीहरूविरुद्ध पनि कारबाही गर्ने बताएका थिए ।

हुथीहरूले सोमबारदेखि साउदी जहाजहरूलाई लक्षित गर्दै बाब अल–मन्दब जलडमरूमध्यमा समुद्री नाकाबन्दी लागू गरेको घोषणा गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्