२९ असार, काठमाडौं । गोकर्णेश्वर नगरपालिका र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर (प्रा.) लि.बीच स्वास्थ्य उपचारसम्बन्धी महत्वपूर्ण सम्झौता भएको छ।
सम्झौतासँगै अब गोकर्णेश्वर नगरपालिकाका स्थायी बासिन्दाले १ लाख रुपैयाँसम्म निःशुल्क उपचार सेवा पाउने भएका छन्।
सम्झौताअनुसार उपचार खर्चको ८५ प्रतिशत गोकर्णेश्वर नगरपालिकाले व्यहोर्नेछ भने १५ प्रतिशत छुट ओम हस्पिटलले प्रदान गर्नेछ। साथै, उपचारमा लाग्ने नेपाल सरकारले निर्धारण गरेको ३ प्रतिशत करसमेत नगरपालिकाले नै व्यहोर्ने व्यवस्था गरिएको छ।
नगरपालिकाले नागरिकलाई सहज, गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यो सहकार्य गरिएको जनाएको छ। यसबाट आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुने नागरिकलाई प्रत्यक्ष राहत पुग्ने विश्वास गरिएको छ।
गोकर्णेश्वर नगरपालिकाले यसअघि पनि विभिन्न स्वास्थ्य सेवा तथा उपचार सहुलियतका कार्यक्रम सञ्चालन गर्दै आएको छ भने यो नयाँ सम्झौताले नगरवासीको स्वास्थ्य सुरक्षामा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।









