१९ असार, काठमाडौं । चिकित्सा शिक्षा महँगो भएकै कारण हजारौँ जेहेन्दार विद्यार्थीको डाक्टर बन्ने सपना बीचमै टुट्ने गरेको यथार्थका बीच गोकर्णेश्वर नगरपालिकाले त्यसलाई बदल्ने साहसिक कदम चालेको छ।
नगरपालिकाले आफ्ना स्थायी बासिन्दाका सन्तानलाई मेडिकल शिक्षामा ५० प्रतिशत छात्रवृत्ति दिने निर्णय गर्दै आर्थिक अभावलाई उच्च शिक्षाको बाधक बन्न नदिने सन्देश दिएको हो।
यो योजनाअन्तर्गत एमबीबीएस अध्ययन गर्ने विद्यार्थीले करिब २१ लाख रुपैयाँसम्म छात्रवृत्ति पाउनेछन्। यस्तै, बीडीएस, बीएस्सी नर्सिङ, बीएस्सी एमआईटी र बीएस्सी ल्याब मेड अध्ययनमा पनि ५० प्रतिशत शुल्क नगरपालिकाले व्यहोर्ने व्यवस्था गरिएको छ।
नेपालमा एमबीबीएस अध्ययनका लागि करिब ४२ लाख रुपैयाँ खर्च लाग्ने भएकाले मध्यमवर्गीय र विपन्न परिवारका धेरै विद्यार्थी आर्थिक कारणले आफ्नो लक्ष्य त्याग्न बाध्य हुने गरेका छन्। गोकर्णेश्वर नगरपालिकाको नयाँ निर्णयले भने यस्तो अवस्थाको अन्त्य गर्ने अपेक्षा गरिएको छ।
नगर प्रमुख दिपक कुमार रिसालका अनुसार यो योजना आर्थिक रूपमा कमजोर तर प्रतिभाशाली विद्यार्थीलाई लक्षित गर्दै ल्याइएको हो। “पैसाको अभावले कुनै पनि जेहेन्दार विद्यार्थी डाक्टर बन्ने अवसरबाट वञ्चित नहोस् भन्ने उद्देश्यले हामीले यो निर्णय गरेका हौँ,” उनले बताएका छन्।
छात्रवृत्तिको सुविधा भने गोकर्णेश्वर नगरपालिकाका स्थायी बासिन्दाका लागि मात्रै लागू हुनेछ। विद्यार्थी वा अभिभावकको नागरिकता अथवा मतदाता परिचयपत्र गोकर्णेश्वर नगरपालिकाभित्रकै हुनुपर्ने व्यवस्था गरिएको छ।
नगरपालिकाले चिकित्सा शिक्षामा मात्र होइन, स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति उत्पादनमा समेत दीर्घकालीन लगानी गर्ने नीति अघि सारेको जनाएको छ। यसअघि पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा विभिन्न सहुलियत तथा छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको गोकर्णेश्वरले यस निर्णयमार्फत स्थानीय सरकार नागरिकको भविष्य निर्माणमा समेत प्रत्यक्ष साझेदार बन्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।











