काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल यही जेठ २२, भोलि (शुक्रवार) देखि २४ गते (आइतवार) सम्म भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। भारतका विदेशमन्त्री डा. एस. जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा उनि भारत जान लागेका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले भारतीय समकक्षी डा. जयशङ्करसँग औपचारिक भेटवार्ता गर्नेछन्। भेटमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षबारे छलफल हुने जनाइएको छ।
दुवै मन्त्रीबीच द्विपक्षीय व्यापार, लगानी, ऊर्जा सहयोग, सम्पर्क सञ्जाल (कनेक्टिभिटी) विस्तार तथा जनस्तरका सम्बन्धलगायत विषयमा विचारविमर्श हुने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार उच्चस्तरीय भ्रमण आदानप्रदानको निरन्तरताका रूपमा रहेको यस भ्रमणले नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
परराष्ट्रमन्त्री खनाल भ्रमण सम्पन्न गरी जेठ २४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।










