रविन्द्रले रचे इतिहासः ‘रोड टु यूएफसी’को सेमिफाइनलमा प्रवेश

खबर बुक
  • ख-
  • ख+

  १४ जेठ, काठमाडौं ।  नेपाली एमएमएका उदीयमान स्टार रविन्द्र ढाँट ‘रोड टु यूएफसी’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

चीनको मकाउमा जारी क्वाटरफाइनल भिडन्तमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै उनले सेमिफाइनलमा स्थान बनाएका हुन्।

‘बझाङको बाघ’ उपनामले चिनिने ढाँटले किम्बर्टलाई दोस्रो राउण्डमै हराए। रोड टु यूएफसी जित्ने उनी पहिलो नेपाली समेत हुन्।

यो प्रतियोगिता एसिया–प्रशान्त क्षेत्रका उत्कृष्ट फाइटरहरूलाई यूएफसीसम्म पुग्ने अवसर दिने महत्वपूर्ण प्लेटफर्म मानिन्छ।

हालसम्म घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका उनले नेपाली एमएमएलाई नयाँ उचाइमा पुर्‍याउने आशा जगाएका छन्।

जितपछि ढाँटले विश्वभर रहेका नेपाली समर्थकलाई धन्यवाद दिँदै आगामी खेलहरुमा पनि यस्तै प्रदर्शन गर्ने बताए। उनको जितपछि प्रतियोगितास्थलमा ‘जय नेपाल’को नारा गुञ्जिएको थियो।

उनले पनि जितपछि ‘जय नेपाल’ र ‘जय हनुमान’ भनेर खुसी व्यक्त गरे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्