११ वैशाख, काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ ।
तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने र बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका साथै कोशी प्रदेशको तराईको थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।
मधेस प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ ।
आज राति देशका हिमाली भूभागमा साधरणतया बादल लाग्ने, पहाडी भूभाग आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।











