इरानद्धारा इजरायलमाथि नयाँ क्षेप्यास्त्र प्रहार, तनाव थप चर्कियो

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, १० चैत । पश्चिम एसिया (मध्यपूर्व)मा युद्धविरामको सम्भावना झल्किएको केही घण्टामै इरानले इजरायलमाथि नयाँ क्षेप्यास्त्र प्रहार गरेपछि क्षेत्रीय तनाव फेरि तीव्र बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘धेरै राम्रो’ वार्ता भइरहेको दाबी गरेको भए पनि तेहरानले औपचारिक रूपमा कुनै संवाद नरहेको स्पष्ट पारेको छ ।

ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि गोप्य वार्ता भइरहेको उल्लेख गर्दै पाँच दिनभित्र सहमति नभए कडा सैन्य कदम चालिने चेतावनी दिएका थिए । उनको उक्त अभिव्यक्तिले विश्व बजारमा सकारात्मक सङ्केत देखिएको थियो भने तेलको मूल्यमा पनि गिरावट आएको थियो । तर इरानले भने यस्तो दाबी अस्वीकार गर्दै यसलाई बजारमा प्रभाव पार्ने प्रयासका रूपमा व्याख्या गरेको छ ।

अमेरिकी पक्षले इरानका उच्च तहका नेतासँग संवाद भइरहेको जनाएको थियो । केही सञ्चारमाध्यमले इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफलाई वार्ताको प्रमुख पात्रका रूपमा उल्लेख गरेका छन् । साथै अमेरिकी प्रतिनिधिहरू स्टिभ विटकफ र जारेड कुशनरले पाकिस्तानमा सम्भावित भेटवार्ता गर्न सक्ने चर्चा पनि गरिएको छ । यद्यपि ह्वाइट हाउसले औपचारिक पुष्टि नगरेसम्म यस्ता विवरणलाई अन्तिम मान्न नहुने बताएको छ ।

यसैबीच, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले इरानी राष्ट्रपति मसुद पेजेस्कियानसँग संवाद गर्दै क्षेत्रीय शान्तिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । तर इरानका अधिकारीहरूले प्रत्यक्ष वार्ता नभएको दोहोर्‍याइरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्