काठमाडौं, १० फागुन । चालु आर्थिक वर्ष २०८२÷८३ को ७ महिनामा नेपालबाट हुने अदुवा निर्यातमा उल्लेख्य वृद्धि भएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि माघसम्म अवधिमा नेपालले ९ हजार ६ सय ५६ टन (९६ लाख ५६ हजार ५ सय ६ किलो) अदुवा विश्व बजार निर्यात गरेको छ । यसबाट मुलुकमा कुल ७७ करोड ७९ लाख १९ हजार रुपैयाँ बराबर विदेशी मुद्रा भित्रिएको छ ।
गत आव २०८१÷८२ सोही अवधिको तुलनामा यस वर्ष अदुवा निर्यात परिमाण झन्डै साढे तीन गुणा बढेको छ भने यसबाट हुने आम्दानी झन्डै दोब्बर वृद्धि भएको हो ।
गत वर्ष सात महिनामा नेपालबाट जम्मा २ हजार ७ सय १७ टन अदुवा मात्रै निर्यात भएको थियो, जसबाट देशले ३९ करोड ८४ लाख १९ हजारमात्र आम्दानी गरेको थियो ।
तथ्यांकलाई तुलनात्मक हेर्दा एक वर्ष अन्तरमा अदुवा निर्यातबाट हुने कुल आम्दानीमा करिब ३८ करोड रुपैयाँले वृद्धि भएको छ भने परिमाण झन्डै ६ हजार ९ सय ३९ टन बढेको छ ।
चालु आव नेपालबाट निर्यात भएको कुल अदुवामध्ये सबैभन्दा ठूलो हिस्सा ‘ताजा अदुवा’ को छ । यस अवधिमा ९ हजार १ सय ६१ टन ताजा अदुवा निर्यात भएको छ, जसबाट ५६ करोड ६५ लाख ४५ हजार आम्दानी भएको छ । जबकि, गत वर्ष सोही अवधिमा जम्मा २ हजार ४ सय ५३ टन ताजा अदुवा निर्यात गरी २८ करोड ४२ लाख रुपैयाँमात्र भित्रिएको थियो ।
ताजा अदुवाका साथै प्रशोधित अदुवा (सुठो र पिँधेको) निर्यातमा पनि उल्लेख्य सुधार आएको छ । यस वर्ष ७ महिनामा ३ सय २९ टन सुठो निर्यात हुँदा १७ करोड ८४ लाख ८७ हजार रुपैयाँ र अन्य प्रकारका पिँधेका वा प्रशोधन गरिएका १ सय ६६ टन अदुवा निर्यातबाट ३ करोड २८ लाख ८७ हजार भित्रिएको छ ।
गत वर्ष सोही अवधिमा २ सय ६३ टन सुठोमात्र निर्यात भएको थियो, जसको मूल्य ११ करोड ४१ लाख रुपैयाँ बराबर थियो ।











