काठमाण्डौं, १३ मंसिर । चालू आर्थिक वर्षको चार महिनामा वीरगञ्ज नाका हुँदै ५४ अर्ब १२ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयातबाट २२ अर्ब ९० करोड राजस्व सङ्कलन भएको छ ।
भन्सार कार्यालयका अनुसार गत आवको चार महिनाको तुलनामा चालू आवको सोही अवधिमा रकमको आधारमा पाँच थरिका पेट्रोलिम पदार्थको आयातमा २ अर्ब ९३ करोडले बढी हो ।
जबकी गत आवको चार महिनाको अवधिमा भने ५१ अर्ब १९ करोड मूल्य पर्ने पेट्रोलियम पदार्थको आयात हुँदा २० अर्ब ८९ करोड राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालू आवको चार महिनामा पेट्रोलियम पदार्थको आयातमा केही वृद्धि भएको जानकारी दिए ।











