काठमाडौं । नेपाली शेयर बजारमा लगातार दोस्रो दिन पनि उल्लेखनीय वृद्धि देखिएको छ। नेप्से परिसूचक आज ५८.६३ अङ्कले बढेर २,६८२.२५ विन्दुमा पुगेको छ। हिजो सोमबार नेप्से परिसूचक १११ अङ्कले उकालो लागेको थियो।
आज बजारमा सबैजसो समूहहरू हरियाली भएका छन्। विशेषगरी विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, बीमा, माइक्रोफाइनान्स र अन्य समूहका शेयर उच्च अङ्कले बढेका छन्।
आजको दिन ८ वटा कम्पनीका शेयर मूल्यमा १० प्रतिशतको उच्च सर्किट लागेको छ, जुन बजारको सकारात्मक धारणा देखाउने संकेत हो। तर बजार समग्रमा बढ्दासमेत, प्रभु स्मार्ट फन्डको शेयर मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ।
तर नेप्से उकालो लागे पनि कारोबार रकममा भने कमी आएको देखिन्छ। हिजो बजारमा ९ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने आज ३२८ वटा कम्पनीका १ करोड १३ लाख कित्ता शेयर किनबेच भई जम्मा ५ अर्ब २९ करोड रुपैयाँको कारोबार मात्र भएको छ।











