काठमाडौं, ११ साउन । नेकपा एमालेका सचिव योगेश भट्टराईले संघीय निजामती सेवा विधेयकमा रहेको (कुलिङ अफ पिरियड) को व्यवस्थालाई लिएर पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि प्रश्न गरेका छन्।
कुलिङ अफ पिरियडबारे प्रचण्डले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत छानबिनको दायरामा ल्याउनुपर्ने भन्दै अभिव्यक्ति दिएका थिए ।
उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भट्टराईले सामाजिक सञ्जालमार्फत प्रचण्डलाई नै प्रतिप्रश्न गरेका हुन्। उनले प्रचण्डको दोहोरो भूमिकामाथि व्यङ्ग्य गर्दै ुआफ्नै बोली आफैँलाई गलपासो नहोस् भन्दै सचेत समेत गराएका छन्।
उनले सामाजिक सञ्जालमा प्रचण्डलाई सम्बोधन गर्दै लेखेका छन् तपाईँले सङ्घीय निजामती सेवाको विधेयकमा कुलिङ अफ पिरियडका बारेमा प्रम केपी ओलीलाई समेत छानबिन गर्नुपर्ने भनेर मन्तव्य दिनुभएकोमा गम्भीर ध्यानाकर्षण भएको छ।
आफ्नो फेसबुक पोस्टमा भट्टराईले तीनवटा मुख्य बुँदामा प्रचण्डको ध्यानाकर्षण गराएका छन् । भट्टराईले प्रचण्ड प्रधानमन्त्री भएकै बेला २०८० फागुन ११ गते मन्त्रिपरिषद्ले पारित गरेर संसदमा पेस गरेको मूल विधेयकमा ुकुलिङ अफ पिरियड्को व्यवस्था नै नरहेको तथ्य उजागर गरेका छन्।भट्टराईले प्रश्न गरेका छन् । यसले स्पष्ट गर्दछ कि तपाईँ कुलिङ अफ पिरियडका पक्षमा हुनुहुन्थेन। आज विपक्षी बेन्चमा पुगेपछि एकाएक कुलिङ अफ पिरियडको भूत कसरी जाग्यो । उनले यो विषय सांसदहरूको संशोधन प्रस्तावपछि मात्रै बहसमा आएको हेक्का राख्न पनि प्रचण्डलाई आग्रह गरेका छन्।
उनले प्रचण्ड प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको वरिष्ठतम सदस्य रहेको स्मरण गराएका छन्। उक्त समितिले विधेयकमा कुलिङ अफ पिरियड राख्ने निर्णय गरे पनि समितिको प्रतिवेदन संसदमा पेस हुँदा सो व्यवस्थालाई तलमाथि गरिएको भन्दै उनले प्रचण्डको नैतिकतामाथि प्रश्न उठाएका छन्।











